बैंकले ग्राहकलाई नचाहिँदो दुःख दिएको सुनिन्छ – गभर्नर अधिकारी


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर १ २०८१
2.3K
SHARES

१ मंसिर काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई अनावश्यक दुःख र टर्चर दिएको गुनासो आएको बताएका छन् ।नेपाल बैंकको ८८औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा गभर्नर अधिकारीले बैंकले ग्राहकलाई गरेको व्यवहारको राष्ट्र बैंकले अनुगमन गर्ने प्रणाली विकास गरेको बताएका हुन् ।

नेपाल राष्ट्र बैंकले ग्राहक व्यवस्थापनको लागि छुट्टै प्रणाली बनाइरहेको छ । उपभोक्ता संरक्षणसम्बन्धी छुट्टै डिभिजन छ । जसले प्रोडिन्सियल सुपरभिजनका साथै मार्केट कन्डक्ट सुपर भिजन गर्न सुरु गरेका छौँ,” अधिकारीले भने, “बैंकहरूले ग्राहकहरूलाई नचाहिँदो दुःख हुने किसिमको टर्चर दिएको सुनिन्छ । बैंक तथा वित्तीय संस्थाका कार्यालयहरूलाई  मार्केट कन्डक्ट सुपर भिजनको सचेतना आवश्यक छ ।”

कार्यक्रममा गभर्नर अधिकारीले नेपाल बैंकलाई राज्यले ठूलो मेहनत गरेर रिकभर गरेको बताए । उनले विगतका गलत व्यवस्थापन हटेर नयाँ किसिमले बैंक अगाडि बढिसकेको भन्दै अब फेरि बैंकलाई त्यो बाटोमा जानबाट रोक्न राष्ट्र बैंकले नियमन गर्नुपर्ने स्थिति नल्याउन पनि आग्रह गरे ।