दुर्गा प्रसाईंले हिरासतबाट लेखे समर्थकलाई यस्तो पत्र
१० मंसिर काठमाडौँ । हाल प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंले समर्थकलाई सम्बोधन गरेर लामो पत्र लेखेका छन् । उनले आफ्नो हिरासतको अनुभूतिसहितको पत्र सचिवालयमार्फत आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् ।
उनले हिरासत भित्रको अँध्यारो कोठाभित्र आफूले हिजो मात्रै बिपी (बिपी कोइराला) को आत्म वृत्तान्त पढेर सकेको बताएका छन् । ‘मलाई बिपीको आत्म वृत्तान्त खुब मन पर्यो र आत्म वृत्तान्त पढेर सक्दा एकोहोरो उहाँमा असीमित सम्मान जागेर आएको छ’, उनले भनेका छन् ।
लाउँलाउँ र खाउँखाउँको यौवन अवस्थादेखि बिपीले दक्षिण एसियाका नागरिकको मुक्तिका लागि आफ्नो जीवन समर्पित गरेको पुस्तकबाट आफूले थाहा पाएको प्रसाईंको भनाइ छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको कम्बोडियाको लगानीबारे आफूले आफ्नो समय र धनको लगानी गरेको दाबी गरेका छन् ।
उनले आफूले सार्वजनिक गरेको प्रमाण १०० प्रतिशत सत्य भएको दाबी गर्दै यसबारे छानबिनको माग समेत गरेका छन् ।