नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु – अध्यक्ष श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १२ २०८१
2.1K
SHARES

१२ मंसिर काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् ।बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरू अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताए ।उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गरे । धितोपत्र बोर्ड अध्यक्षविहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठूलो जिम्मेवारी र चुनौतीहरू रहेको उल्लेख गरे । ।

उनले पुँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले प्राथमिकतामा राखेर पुँजीबजार विकासको काम गर्ने बताए । बोर्डमा नेतृत्वको अभावमा अड्किएका कामहरू अगाडि बढाउने धारणा राखे । साथै, पुँजीबजारको भूमिका र दायरा बढाउँदै लैजानुपर्ने बताए । लामो समयदेखि रोकिएको आईपीओ समयमा नै आउने गरी काम गर्ने बताए । आफ्नो यही कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि दाबी गरे । पुँजीबजारको विकासमा सबै सरोकारवाला निकायहरूसँगको सहकार्यमा लाग्ने र पुँजीबजारलाई वर्तमान समय सापेक्ष अगाडि बढाउने उल्लेख गरे । अध्यक्ष श्रेष्ठले एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिने पहिलो निर्णय गरे । उनले आफ्नो कार्यकालमा सेयर लगानीकर्ताहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।