अनेरास्ववियुका नेताद्वारा प्रहरी कुटिए, दुई गम्भीर घाइते


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ २५ २०८१
2.1K
SHARES

२५ माघ काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि विद्यार्थी संगठन अनेरास्ववियुका नेताले गए राति सांघातिक आक्रमण गरेका छन् ।प्रहरी वृत्त, दरबारमार्गअन्तर्गतको केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टीम (क्युआरटी) का प्रहरीमाथि गए राति १२ बजे आक्रमण भएको हो । उनीहरूलाई एमालेनिकट अनेरास्ववियुका नेताहरूले आक्रमण गरेको दरबारमार्ग प्रहरी स्रोतले जनाएको छ ।

विद्यार्थी नेताको आक्रमणबाट प्रहरी हवल्दार जगुलाल घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । प्रहरी जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको प्रहरी स्रोतले जनाएको छ । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । क्युआर टोलीले प्रयोग गर्ने मोटरसाइकल र हेलमेट पूर्ण रूपमा क्षति भएको छ । ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

आक्रमणमा संलग्न अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) का नेता कमल जोशी र सोही क्याम्पसका प्राक उपाध्यक्ष दिनेश सिग्देलसहितको टोली हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।उनीहरूको विरुद्ध मुद्दा दर्ता गरिने भएको छ । घाइते प्रहरीमध्ये घर्तीको अवस्था चिन्ताजनक रहेको प्रहरी स्रोतले बतायो ।