नक्कली कागजात बनाएर वन फँडानी गर्ने पक्राउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २६ २०८१
2.2K
SHARES

२६ चैतअछाम । अछामको कमलबजार नगरपालिका–५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन समितिको किर्ते कागजात बनाएर फँडानी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त वन समितिका सचिव छत्रराज तिमल्सेना रहेका छन् ।

उनले पाँचुल्ली चैतेपातल सामुदायिक वन उपभोक्ता समितिका नाममा नक्कली कागजात बनाई वन डिभिजन कार्यालयबाट चोत्रो (डाँठ, पात, बोक्रा) पैदावार बिक्री गर्ने अनुमति लिएर फँडानी गरेको डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्याले जानकारी दिए ।

उनले पक्राउ परेका तिमल्सेनालाई डिभिजन वन कार्यालयको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धानको प्रक्रिया अगाडि बढाइसकेको बताए ।वन ऐन, २०७६ अनुसार दुई लाख रुपैयाँभन्दा बढी बिगो भएको र एक वर्षभन्दा धेरै कैद हुने अवस्थाका मुद्दा अदालतबाट छिनोफानो गरिन्छ । अरू मुद्दा वन डिभिजनले नै हेर्ने कानुनी व्यवस्था छ ।

सामुदायिक वनबाट चार हजार किलो चोत्रो (डाँठ, पात, बोक्रा) फँडानी गरिएको छ । चोत्रो (डाँठ, पात, बोक्रा)को प्रतिकिलो १० रुपैयाँ बिगो हुन्छ । त्यसानुसार ४० हजार रुपैयाँ जरिवाना हुने र अनुसन्धानमा केही थप देखिएमा सोही दफाअनुसार कारबाही हुने पाध्यायको भनाइ छ ।नक्कली कागजात तयार पारेर वन पैदावरको अनुमति लिन अरू व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान भइरहेको जनाइएको छ ।