युवतीको भिडियो दुरुपयोग गरी चरित्रहत्या गर्ने पक्राउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २८ २०८१
1.8K
SHARES

२८ चैत काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत चिनजान भई प्रेम सम्बन्धमा रहेका पीडित युवतीले आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो उनीहरूको सम्बन्ध छुटेपछि दुरुपयोग गरेको आरोपमा पूर्वप्रेमीका साथी पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिले उक्त भिडियो देखाएर पैसा माग्ने, आपत्तिजनक शब्द प्रयोग गरी शारीरिक सम्बन्ध राख्न बोलाउने र नआएमा भिडियो सामाजिक सञ्जालमा राखी भाइरल गरिदिन्छु भनी मानसिक तनाव दिएको भनी पीडित युवतीले दिएको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।

ललितपुर महानगरपालिका–४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकलाई प्रहरीले पक्राउ गरेको हो । निजलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मिति चैत २६ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी दीपकराज अवस्थीले जानकारी दिए ।