कक्षा १२ को परीक्षा बहिष्कार गर्ने शिक्षक महासंघको निर्णय
२ वैशाख काठमाडौं । नेपाल शिक्षक महासंघले देशभरका विद्यालय बन्द गर्ने निर्णयसँगै कक्षा १२ को परीक्षा बहिष्कार गर्ने घोषणा गरेको छ। महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै आगामी ११ गतेदेखि सुरु हुन गइरहेको कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने स्पष्ट पारेको हो।सरकारले एकातर्फ नयाँ शैक्षिक सत्रको सुरुआतसँगै विद्यालय भर्ना अभियान सञ्चालन गर्दै गर्दा अर्कोतर्फ शिक्षक महासंघले विद्यालयहरू अनिश्चितकालीन बन्द गर्ने निर्णय लिएको छ। यसले शिक्षा क्षेत्र थप संकटमा फस्ने संकेत देखिएको छ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि देशव्यापी शिक्षक आन्दोलन सुरु भएको हो। आन्दोलनको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नु पर्ने रहेको छ। ऐनको अभावमा शिक्षकमाथि अन्यायपूर्ण व्यवस्था हुँदै आएको भन्दै शिक्षकहरू सडकमा उत्रिएका छन् ।
महासंघले आफ्नो जारी आन्दोलनमा साथ दिन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई समेत अनुरोध गरेको छ। यसले आन्दोलनलाई थप व्यापक बनाउने संकेत देखिएको छ।
विज्ञप्तिमा देशभरका सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई अनिश्चितकालीन विद्यालय बन्द गरी काठमाडौँमा जारी शैक्षिक आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन आग्रह गरिएको छ। महासंघले शिक्षा ऐन जारि नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ ।
सरकार र शिक्षकबीचको संवाद अझै ठोस निष्कर्षमा पुग्न सकेको छैन। विद्यार्थीको भविष्य अन्योलमा पर्दै गएको सन्दर्भमा अबको दिनमा सरकारको भूमिका कस्तो रहन्छ भन्नेमा सबैको चासो रहेको छ।

