महिला बेच्न खोजेको आरोपमा पक्राउ परेका उर्पा कारागार चलान


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १३ २०८२
1.6K
SHARES

१३ जेठ काठमाडौं । वैदेशिक रोजगारीमा इराक पठाउने भन्दै भारत लगेर बेच्न खोजेको आरोपमा पक्राउ परेका एक व्यक्ति कारागार चलान भएका छन् ।कारागार चलान हुनेमा रसुवाको नौकुण्ड गाउँपालिका–६ का ४२ वर्षीय उर्पा तामाङ भनिने उर्पा लोप्चन छन् ।

कुमार तामाङ र उर्पाले एक महिलालाई इराकमा मासिक ४५ हजार रुपैयाँमा घरेलु कामदारको रूपमा पठाउने भन्दै प्रलोभन देखाएर बेच्न खोजेको आरोप छ ।त्यसका लागि काठमाडौंमा मेडिकल समेत गराएर २५ दिनसम्म बालाजुको एक होटलमा राखेको बताइएको छ ।त्यसपछि १८ जेठ २०८० मा काठमाडौंबाट भारत लैजाने क्रममा झापाको काँकडभिट्टा नाकाबाट साना हातहरू नामक संस्थाले ती महिलाको उद्धार गरेको थियो ।

पीडित महिलाले २१ जेठ २०८० मा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रतिवादी कुमारलाई पक्राउ गरिएको थियो ।उनी अहिले पनि पुर्पक्षमा कारागारमै छन् । उर्पा भने फरार हुँदै आएका थिए । ८ जेठ २०८२ मा पक्राउ परेका उनलाई अदालत उपस्थित गराइएकोमा पुर्पक्षका लागि कारागार चलानको आदेश आएको ब्यूरोका एसपी तथा प्रवक्ता नरेन्द्र कुँवरले बताए ।
उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।