अमला रोकालाई सम्पत्ति शुद्धीकरणले छोड्यो
१० असार काठमाडौं । बहुचर्चित ६१ किलो सुन काण्डमा पक्राउ परेकी अमला रोकालाई सोमबार काठमाडौं जिल्ला अदालतले धरौटीमा छोडे लगत्तै सम्पत्ति शुद्धीकरण मुद्दामा पुनः पक्राउ परिन् । तर, त्यहाँबाट पनि हाजिर जमानीमा रिहा भएकी छन् ।जिल्ला अदालत काठमाडौंमा न्यायाधीश बलराम लम्सालको एकल इजलासले थुनछेक बहसपछि सोमबार उनलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । त्यसपछि प्रहरीले जिल्ला अदालतबाहिरबाट सोमबार पुनः नियन्त्रणमा लिई उनलाई पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाएको थियो । विभागले सोमबार राति नै एक जना आफन्त बोलाएर हाजिर जमानीमा रिहा गर्यो ।
विभाग स्रोतका अनुसार उच्च राजनीतिक तथा प्रशासनिक दबाबमा उनलाई रिहा गरिएको हो । प्रहरीले विभागमा बुझाए लगत्तै पुनः प्रहरी हिरासतमै राख्नका लागि पत्र लेखिँदै थियो । पत्र लेखि नसक्दै उनलाई हाजिर जमानीमा छुटाउन व्यापक दबाब आएको स्रोतले जनायो ।
उनीसँग स्रोत नखुलेको करोडौँ रकमबारे विभागमा दुई वर्षअघि नै उजुरी परेको थियो । सुन काण्डमै पक्राउ परी हाल पुर्पक्षका लागि थुनामा रहेका उनका पति दावा छिरिङमाथि सम्पत्ति शुद्धीकरण मुद्दा पनि चलाइएको छ । दावामाथिको अनुसन्धानका क्रममा कतिपय रकम अमलाको खातामा देखिएको र उनीसँगै रहेको सम्पत्तिको पनि स्रोत स्पष्ट नभएपछि विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई पत्र लेखेर उपस्थित गराउन भनेको थियो ।
सिआईबीस्थित आर्थिक अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार उनको सम्पत्तिसम्बन्धी सम्पूर्ण अनुसन्धान विभागबाटै भएको हो । ‘हाम्रो हिरासतमा भएकोले उपस्थित गराइदिनु मात्रै भनिएको थियो’, उनले भने ।