‘सिनेपाः’को दोस्रो ‘फेज’ निर्माणको बोलपत्र आह्वान


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १८ २०८२
1.6K
SHARES

१८ साउन काठमाडौं । चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१०, जनगलमा बनाउन लागिएको अत्याधुनिक इनडोर फिल्म स्टुडियो ‘सिनेपाः’को दोस्रो ‘फेज’ निर्माणको बोलपत्र आह्वान गरेको छ । आइतबार (साउन १८) एक सूचना प्रकाशन गरी बोर्डले इच्छुक निर्माण कम्पनीलाई ३० दिनभित्र ई–बिडिङ प्रणालीबाट प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।परियोजनामा सहभागी हुन चाहने कम्पनीले ३६ लाखको बोलपत्र सुरक्षा रकम र १० हजार रुपैयाँको दस्ताबेज शुल्क बुझाउनुपर्नेछ ।

यसअघि, ०८१ माघ २७ गते बोर्डले पहिलो टेन्डर आह्वान गरेको थियो । बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, ‘सिनेपाः’ नेपालको हालसम्मकै सबैभन्दा ठूलो इनडोर सुटिङ स्टुडियो हुनेछ । सरकारी स्वामित्वमा यस्तो स्टुडियो पहिलोपटक बनाउन लागिएको हो ।४२ रोपनी क्षेत्रफलमा निर्माण गरिने उक्त स्टुडियोमा स्वदेशी चलचित्र निर्मातालाई प्रविधियुक्त, गुणस्तरीय र लागतमैत्री छायांकनस्थल उपलब्ध गराइनेछ । वर्षौंदेखि योजनास्तरमा रहेको यो परियोजना हालै निर्माण चरणमा प्रवेश गरेको हो ।

०८२ वैशाख ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित आफ्नो सरकारी निवासमा आयोजित विशेष कार्यक्रममा ‘सिनेपाः’ स्टुडियो निर्माण आरम्भको औपचारिक घोषणा गरेका थिए ।‘सिनेपाः’को निर्माणले नेपाली फिल्म उद्योगमा आधुनिक सुटिङ पूर्वाधारको खाँचो पूर्ति गर्दै अन्तर्राष्ट्रिय मापदण्डको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

ewfg-1754201083.jpg