महिलाको शव सुटकेसभित्र, हत्याको आंशका
८ भदौं काठमाडौं । रौतहटमा एक महिलाको शव सुटकेसभित्र ‘प्याक’ गरेको अवस्थामा फेला परेको छ । उक्त शव गौर नगरपालिका–२ मा बस्दै आएकी करिब २६ वर्षीया रुवी शाह सुडीको रहेको खुलेको मधेस प्रदेश प्रहरी प्रमुख एवं डीआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।रुवीको शव गौर–९, स्थित सिरसिया सडकखण्डमा सुटकेसभित्र प्याक गरेर राखेको अवस्थामा प्रहरीले फेला परेको थियो । रौतहटकै माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीले भारतमा विवाह गरेको खुलेको छ ।
पछिल्लो समय उनी चार वर्षीय छोरालाई पढाउन गौर–२, महादेवपट्टीमा डेरामा बस्दै आएकी थिइन् । प्रहरीका अनुसार, सुटकेसभित्र कुहिनो र घुँडा जोडेर डोरीले बाँधेको अवस्था शव फेला परेको हो ।
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । घटनास्थल शव भेटिएको ठाउँभन्दा टाढा भएको प्रहरीले आशंका गरेको छ ।डीआईजी चतुर्वेदीले भने, ‘‘शव फेला परेको स्थाननजिक घटनास्थलजस्तो देखिँदैन । भारतीय सीमाभन्दा करिब दुई किलोमिटर वर मात्रै शव फेला परेको हो । हामी थप अनुसन्धानकै क्रममा छौँ । भारतीय प्रहरीसित समेत सहकार्य गर्नुपर्ने देखिन्छ ।’’