रवि लामिछानेलाई अन्ततः नख्खु कारागारमा राखिने
२८ भदौ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अन्ततः नख्खु कारागारमा राखिने भएको छ । कारागारमा थप सुरक्षा व्यवस्था माग गरिएको प्रहरी स्रोतले बतायो ।
पाँच दिनअघि कारागारबाट निस्किएका रवि आज आफैँ फर्किएका थिए । स्रोतका अनुसार उनले सुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन् । कारागार प्रहरीले सुरुमा आनाकानी गरे पनि अहिले थप सुरक्षा व्यवस्थासहित उनलाई राख्ने पहल भएको छ ।
नख्खु कारागार सशस्त्र प्रहरीको सुरक्षा नियन्त्रणमा छ । रविले अहिलेको परिस्थितिमा सुरक्षा व्यवस्था अपर्याप्त भएको बताएका थिए ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले रविको मागबारे कारागार सुरक्षामा तैनाथ सशस्त्र प्रहरीलाई पत्र लेखेर प्रहरीले ध्यानाकर्षण गराएको बताए ।