भ्रष्टाचार रोक्न अल्बानियामा एआई ‘मन्त्री’


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २९ २०८२
4.7K
SHARES

२९ भदौ काठमाडौं । अल्बानिया एआई ‘मन्त्री’ नियुक्त गर्ने विश्वको पहिलोे देश बनेको छ । यो कुनै मानिस नभई पिक्सेल र कोडबाट निर्मित एक भर्चुअल मन्त्री हो, जसले पूर्ण रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)अनुसार काम गर्छ । यसको नाम डिएला राखिएको छ ।प्रधानमन्त्री एडी रामाले हालै चौथोपटक चुनाव जितेको केही महिनापछि डिएलालाई आफ्नो मन्त्रिपरिषद्‌मा समावेश गरेका छन् । डिएलालाई सरकारी लगानीका परियोजना र सार्वजनिक टेन्डरमा हुने भ्रष्टाचार रोक्ने जिम्मेवारी दिइएको छ । तर, विपक्षी दलले आलोचना गर्दै यो ‘पब्लिसिटी स्टन्ट’ र संविधानविपरीत भएको जनाएको छ ।

अल्बानियाली भाषामा डिएलाको अर्थ ‘घाम’ वा ‘सूर्य’ हुन्छ । डिएलाले यसअघि पनि अल्बानियामा काम गरिसकेकी छन् । उनी एआई प्रविधिमा आधारित भर्चुअल सहायक थिइन्, जसले नागरिकलाई सरकारी कागजात प्राप्त गर्न मद्दत गर्थिन् । यसरी अल्बानियाली नागरिक पहिले नै डिएलासँग परिचित छन् ।डिएलाले ‘इ–अल्बानिया’ प्लेटफर्ममा १० लाखभन्दा बढी मानिसलाई सहयोग गरिसकेकी प्रधानमन्त्री रामाको दाबी छ । तर, अब उनको उद्देश्य डिएलालाई एउटा साधारण च्याटबोटबट अगाडि बढाएर सरकारी कामको महत्त्वपूर्ण हिस्सा बनाउनु रहेको छ ।

ठूला विकसित अर्थतन्त्र अझै पनि पुराना तरिकामा अड्किएका छन् । तर, अल्बानियाले यो पहलबाट ठूलो फड्को मार्न सक्ने रामा बताउँछन् । रामाले आफ्नो उद्देश्य अल्बानियालाई पूर्ण रूपमा भ्रष्टाचारमुक्त देश बनाउनु रहेको बताएका छन् ।

एआई मन्त्री बनाउनु एक प्रतीकात्मक कदम मानिएको छ । किनभने, अल्बानियाको संविधानानुसार मन्त्री बन्नका निम्ति मानिस वयस्क र सक्षम हुन आवश्यक छ । तर, मानिसको सट्टा एआईलाई छनोट गर्नुका धेरै फाइदा रहेको जनाइएको छ ।डिएलाले न कहिल्यै सरकारी रहस्य बाहिर ल्याउनेछ न त भ्रष्टाचार वा खर्च घोटालामा फस्नेछ । यसलाई केवल बिजुली भए पुग्छ ।गएको जुनमा प्रधानमन्त्री रामाले एक दिन अल्बानियामा डिजिटल मन्त्री र एआई प्रधानमन्त्री पनि हुन सक्ने बताएका थिए । त्यस बेला धेरै कम मानिसले यो यति छिटो वास्तविकतामा परिणत हुन्छ भन्ने सोचेको जनाइएको छ ।

डिएलाको नयाँ भूमिकाका विषयमा मिश्रित प्रतिक्रिया छ । विपक्षी डेमोक्रेटिक पार्टीले यसलाई ‘हास्यास्पद’ र ‘असंवैधानिक’ भनेको छ । केही मानिसले यसलाई राम्रो पहल मानेका छन् ।वित्तीय सेवा कम्पनी बाल्कन क्यापिटलका संस्थापक अनिरा बज्रकतारी बिजाले प्रधानमन्त्री रामा प्रायः सुधारलाई नाटकीयताका साथ प्रस्तुत गर्ने भएकाले मानिसले यसलाई एउटा स्टन्ट मान्न सक्ने बताएका छन् । तर, यसलाई साँच्चै पारदर्शिता बढाउने र विश्वास कायम गर्ने प्रणालीमा बदल्न सकिएमा यो उपयोगी साबित हुन सक्ने बताइएको छ ।

भ्रष्टाचारविरोधी विज्ञ पनि एआईबाट फाइदा हुन सक्नेमा सहमत छन् । किंग्स कलेज लन्डनका डा. एन्डी होक्सहाजका अनुसार, एआईलाई सही तरिकाले प्रोग्राम गरिए यसले कम्पनीका दाबी पूरा गरिए वा छैनन् भन्ने सजिलै बताउन सक्छ ।

अल्बानिया भ्रष्टाचारसित लड्नुको मुख्य कारण ऊ युरोपेली संघमा सामेल हुने प्रक्रियामा छ । र, भ्रष्टाचार घटाउनुपर्ने सबैभन्दा महत्त्वपूर्ण सर्त छ । सन् २०२४ को भ्रष्टाचार सूचकांकमा अल्बानिया १८० देशमध्ये ८०औँ स्थानमा थियो ।अल्बानिया लामो समयदेखि भ्रष्टाचारको समस्यासँग जुधिरहेको छ । युरोपेली संघका धेरै प्रतिवेदनमा अल्बानियामा भ्रष्टाचार तल्लो तहमा मात्र नभई उच्च तहसम्म फैलिएको उल्लेख छ, जसमा राजनीतिज्ञ, मन्त्री र ठूला अधिकारी पनि संलग्न छन् ।

अल्बानियालाई ईयूको सदस्य बन्न उसले सन् २०३० सम्ममा भ्रष्टाचार अन्त्य गर्न र न्यायपालिकालाई सुदृढ पार्न तत्काल र ठोस कदम चाल्नुपर्नेमा जोड दिइएको छ । आफू सुधारका निम्ति गम्भीर रहेको अन्तर्राष्ट्रियस्तरमा देखाउन प्रधानमन्त्री रामा सरकारले एआईजस्ता नयाँ प्रयोग गरिरहेको जनाइएको छ ।उनले सन् २०२५ मेमा ऐतिहासिक चौथोपटक जनादेश प्राप्त गरेका थिए । त्सपछि उनले अल्बानियालाई २०३० सम्ममा युरोपेली संघको हिस्सा बनाउने वाचा गरेका थिए ।