कार्त्तिक २१ मा पुग्यो ‘अभिमन्यु’


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १९ २०८२
1.1K
SHARES

१९ असोज काठमाडौँ । फिल्म ‘अभिमन्यु : च्याप्टर १’को प्रदर्शन फेरि सरेको छ । भदाै २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने लागेको फिल्म सरेर कार्त्तिक २१ मा पुगेको छ । देशमा भएको अविरल वर्षा र त्यसले विभिन्न ठाउँमा पुर्‍याएको क्षतिका कारण फिल्म रिलिज सारिएको निर्माता विनोद पौडेलले बताए ।

फिल्मको प्रदर्शन मिति परिवर्तन भएको यो तेस्रो पटक हो । यसअघि भदौ २७ गते प्रदर्शनमा आउन लागेको यो फिल्म जेनजीको आन्दोलनको कारण सरेर असोज १३ गते फूलपातीमा पुगेको थियो । यो मितिमा पनि तीन फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ रहेको भन्दै सरेर असोज २४ प्रदर्शन मिति तोकिएको थियो ।

फिल्मको प्रदर्शन सरेसँगै निर्माण युनिटले नयाँ गीत ‘मरौँ ज्यानले…’ सार्वजनिक गरेको हो । गीतमा सुरेश बादलको शब्द र सुशान्त गौतमको संगीत तथा स्वर छ । प्रेममा लिन प्रेम जोडीको प्रेमकथा गीतमा समेटिएको छ । प्रेममा परेको जोडी प्रेमबिना बाँच्न सक्ने अवस्थामा नरहेको तर मर्न पनि नसक्ने अवस्था गीत भन्छ ।

गीतको भिडियोमा फिल्ममा मुख्य दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा देखिएका छन् । नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुन लागेको फिल्म सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको हो । फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देलको मुख्य भूमिका छ ।

फिल्म सुशान्त गौतमले निर्देशन गरेका हुन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्मको रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता, विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्मातामा रहेका छन् ।