गोली प्रहार गरी पुजारीको हत्या
२ कात्तिक सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८, काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या गरिएको छ । आइतबार (कात्तिक २) बिहान करिब २ बजे अज्ञात समूहले गोली प्रहार गरी ७३ वर्षीय पुजारी रामदुलार साहको हत्या गरेको परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए ।गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युँमा गोली प्रहार गरेको थियो ।
घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको छ ।
घटनास्थलमा गोलीका दुई खोका फेलापरेको प्रहरीले जनाएको छ । शव परीक्षणका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं एसपी गौतमकुमार केसीले जानकारी दिए ।उनका अनुसार, सीमावर्ती क्षेत्रमा शंकास्पद व्यक्तिमाथि चेकजाँच तीव्र बनाइएको छ ।