चलचित्र सधैँ निर्देशकको हुन्छ – अभिनेता खगेन्द्र लामिछाने


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ९ २०८२
1.8K
SHARES

९ मंसिर काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेले चलचित्र सधैँ निर्देशकको हुने बताएका छन् । स्क्रिप्ट हेरेर चलचित्रमा ‘साइन’ गरिसकेपछि निर्देशकले भनेअनुसार काम गर्नु अभिनेताको दायित्व भएको उनले बताएका छन् । “सिनेमा भनेको सधैँ डिरेक्टरको हुन्छ । स्क्रिप्ट पढेर काम गर्न राजी भइसकेपछि अभिनेताले निर्देशकले भने अनुसार काम गर्नुपर्छ,” खगेन्द्र भन्छन्, “यो सट यस्तो भएको भए हुन्थ्यो, यो सिन यस्तो हुनुपर्छ । यहाँबाट यसरी खिचेको भए हुन्थ्यो भनेर अभिनेताले भन्ने होइन ।”

आफूले पनि आजसम्म कुनै पनि निर्देशकसँग काम गर्दा ‘यस्तो होइन, यस्तो गरौँ’ भनेर नभनेको उनले स्पष्ट पारेका छन् । कथामा छलफल गर्दा भने कलाकारले आफ्नो विचार राख्नसक्ने उनको धारणा छ । “अभिनेता भनेको सेटमा डिरेक्टर्स–एक्टर भएर काम गर्ने हो । मैले चलचित्र हर्षमा पनि त्यही भएर काम गरेको छु,” खगेन्द्र भन्छन्, “मलाई हर्षको कथा निर्देशकले न्यारेट गर्दा मैले उहाँलाई एकदमै प्रष्ट पाएको थिएँ ।”

चलचित्र ‘हर्ष’लाई एकता पौडेलले निर्देशन गरेकी छन् । यो चलचित्रमा खगेन्द्र मुख्य भूमिकामा छन् । सिनेमामा खगेन्द्रसँगै वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, लुनिभा तुलाधर, अंशु महर्जनलगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रमा आलोक शुक्लाको छयांकन र लोकेश बज्राचार्यको सम्पादन छ । चलचित्रको कथा निर्देशक पौडेल आफैँले लेखेकी छन् । प्रशन्न पौडेल र विकास पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता हिक्मत चोखाल छन् ।