दीपक गजुरेल २३औँ पटक पक्राउ


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २८ २०८२
2.8K
SHARES

२८ मंसिर काठमाडौं । तपाईं अनुमान गर्न सक्नु हुन्छ ? मानिस कतिपल्ट अपराध गर्छ र जेल बस्छ ? एक पटक, दुई पटक, पाँच पटक । तर, यत्तिमात्रै होइन नुवाकोटका २८ वर्षीय दीपक गजुरेल २३औँ पटक पक्राउ परेका छन्, त्यो पनि एउटै प्रकृतिको अपराध गरेको गजुरेललाई प्रहरी वृत्त गौशालाको विशेष टोलीले शुक्रबार सिनामंलगबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गजुरेलले बुधबार सिनामंलगस्थित राजश्री बचत तथा ऋण सहकारी संस्थाको कार्यालय तोडफोड गरेर लुटपाट गरेका थिए । प्रहरीको विशेष टोलीले सहकारीको कार्यालय तथा आसपासका सीसीटीभी फुटेजका आधारमा सहकारी लुट्ने गजुरेलाई पहिचान गरेर पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका गजुरेलमाथि अनुसन्धान गर्दा भने प्रहरी नै चकित परेको छ । अनुसन्धानका क्रममा गजुरेल सहकारी लुटपाटका ‘नटवरलाल’ नै भएको खुलेको छ । काठमाडौं प्रहरीका एसपी पवन भट्टराइका अनुसार गजुरेलले काठमाडौं–पोखरालगायतका सहरका विभिन्न १९ वटा सहकारी लुटेको खुलेको हो ।

यो बाहेक अन्य अपराध गरेर २२ वटा मुद्दा गजुरेलविरुद्ध चलेको खुलेको छ । प्रहरीको अनुसन्धानका क्रममा गजुरेल सहकारी लुटपाट गरेकै अभियोगमा पुर्पक्षका लागि थुनामा थिए ।  भदौ २४ गतेको जेनजी प्रदर्शनमा भने गजुरेल सुन्धारा कारागारबाट भागेको खुलेको छ ।