सिनामंगल–गोंगबु रुटमा बसयात्रुबाट पौने ३ लाख पाकेटमारी, ४ जना पक्राउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस २४ २०८२
1.6K
SHARES

२४ पुस काठमाडौं । सिनामंगलबाट गोंगबु जान मयूर यातायातको बस चढेका एक यात्रुको २ लाख ७५ हजार रुपैयाँ पाकेटमारी भएको छ ।बाग्लुङ नगरपालिका–४ घर भइ काठमाडौं मित्रनगर डेरा गरी बस्ने ३७ वर्षीय दीपेन्द्र शर्मा सिनामंगलबाट गोंगबु जान मयुर यातायात चढेका थिए । मित्रपार्क पुग्दानपुग्दै उनले बोकेको कालो रङको साइड ब्याक गायब भयो ।

त्यसपछि उनले २३ पुसमा प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए । लगत्तै अनुसन्धानमा खटिएको टोलीले चार जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा काठमाडौं दक्षिणकाली नगरपालिका–२ का ३७ वर्षीय सरोज खड्का, काभ्रेको महाभारत गाउँपालिका–७ का ४२ वर्षीय विकाश लामा, तनहुँका ३३ वर्षीय राजु गुरुङ र ललितपुरका ३३ वर्षीय सुवास मगर छन् । उनीहरुलाई जाहेरी परेको ६ घण्टामै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।