स्वास्थ्य करसम्बन्धी सबै बजेट स्वास्थ्य मन्त्रालयले पाउनुपर्छ – स्वास्थ्यमन्त्री


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस २५ २०८२
1.7K
SHARES

२५ पुस काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य कर कोषको बजेट सम्बन्धित मन्त्रालयमा नै खर्च गर्न अर्थ मन्त्रालयलाई दबाब दिएकी छन् । विभिन्न देशका अनुभव र स्वदेश भित्रकै विज्ञहरूले दिएको सुझावको आधारमा पनि स्वास्थ्य मन्त्रालयले सो बजेट पाउनुपर्ने उनको तर्क थियो ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले सो कोषको बजेट सबै स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने समेत बताइन् ।

त्यस अवसरमा उनले बजेटको माग गर्दा जिम्मेवार भएर प्रस्तुत हुन पनि मातहतका निकायलाई सचेत गराइन् । मन्त्री गौतमले प्रमाणको आधारमा मात्रै कर्मचारीहरूले बजेटको माग गर्नुपर्नेतर्फ पनि सचेत गराइन् ।उनले भनिन्, ‘विभिन्न सुझावहरू पनि आएका छन् । अन्य देशका अनुभवहरू पनि छन् । ती पनि सही छन् । कतिपय अवस्थामा विभिन्न टयाक्सहरू लगाऊ र यता देऊ भनेर हेल्थ फाइनान्सका समग्र कुराहरू आएका छन् । जुन हामीले पनि भनिराखेको हो । हाम्रो स्वास्थ्य कर कोषमा धुम्रपानको त उठेकै छ । त्यो पनि हामीले सबै पाउँदैनौ । अव सरकारलाई, अर्थ मन्त्रालयलाई घचघच्याउनुछ ।’

उनले अगाडि भनिन्, ‘हामीले देशको इकोनोमिक अवस्था पनि रियलाइज गरौं । हामी सबै जिम्मेवार नागरिक हौँ । हामी त अझ विद्वान पढेलेखेका मान्छे हौँ । जसले गाइड गर्नुपर्छ सरकारलाई । गलत भयो भने पनि भएन भन्नुपर्छ सरकारलाई । हामीले माग्ने मात्रै होइन । त्यो हामीले गर्नुपर्छ ।’मन्त्री गौतमले मुलुकलाई आर्थिक चापमा रहेकाले त्यसको आधारमा अघि बढ्न पनि कर्मचारीलाई निर्देशन दिइन् ।