निर्देशनमा फर्किइन् रेखा थापा
४ फागुन काठमाडौं । नायिका तथा निर्देशक रेखा थापा आठ वर्षपछि निर्देशनमा फर्किएकी छन् । उनले ‘माया भनेकै यस्तो होला’ निर्देशन गर्ने भएकी हुन् । यसअघि उनले ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरेकी थिइन् । यो उनको तेस्रो निर्देशन हो । ‘दिया एन्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण हुने चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्वमिस नेपालद्वय सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका रहनेछ ।
निर्माण पक्षले चलचित्रको घोषणसँगै दुईवटा फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ निर्माता रहेको यस चलचित्रले प्रेम कथाका माध्यमबाट सामाजिक भावनालाई उठान गर्ने संकेत दिएको छ । सुदीप बरालको डीओपी रहने चलचित्रको छायांकन फागुनको दोस्रो साताबाट सुरु हुनेछ ।