चिकित्सक संघको सम्मेलन जेठ १६ र १७
१० जेठ चितवन । नेपाल चिकित्सक संघले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ संघले आफ्नो ३०औँ सम्मेलन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको हो ।
संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीका अनुसार सम्मेलनमा भारत र चीनका विशेषज्ञ चिकित्सकहरूसहित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।विश्व मेडिकल एसोसिएसनका विज्ञहरूको भिडियो प्रस्तुतीकरण रहनेछ । देशभरबाट प्रतिनिधिमूलक रूपमा चिकित्सकहरू सहभागी हुनेछन् । अध्यक्ष डा. कार्कीका अनुसार सम्मेलनमा चार वटा समूहगत छलफल गरिने छ । कार्यक्रममा ६० कार्यपत्र र अन्य वैज्ञानिक प्रस्तुतीकरणसहित गरी १०० भन्दा बढी प्रस्तुतीकरण हुनेछन् ।
सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापनजस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिने उनले बताए । हरेक दुई/दुई वर्षमा हुँदै आएको यो कार्यक्रम १२ वर्षयता तीन/तीन वर्षमा गर्न थालिएको छ । उनका अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागतसम्बन्धी चुनौतीलाई समाधान गर्न नवप्रवर्तनलाई केन्द्रमा राखेर छलफल गरिनेछ ।
यसपटकको सम्मेलनमा संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य अधिकारलाई कसरी सुदृढ बनाउने र स्वास्थ्य क्षेत्रमा विश्वका नयाँ प्रविधि र आविष्कारहरूलाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रित रहेर वैज्ञानिक सत्रहरू सञ्चालन हुने अध्यक्ष डा. कार्कीले जानकारी दिए ।