‘कबड्डी–५’मा भिलेनका रूपमा देखिँदै विपीन कार्की
१९ असार काठमाडौं । अभिनेता विपीन कार्कीलाई फेरि एकपटक दर्शकले फरक अवतारमा देख्ने भएका छन् । ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’मा विपीन फरक अवतारमा देखिँदै छन् । ब्लकबस्टर यो सिरिजमा विपीनले पहिलोपटक काम गरेका छन् । यसमा विपीन फरक अवतारमा देखिन लागेका हुन् । यो चलचित्रमा विपीन खलपात्रका रूपमा देखिनेछन् ।
“यो चलचित्रमा म खलपात्रको रुपमा देखिँदै छु,” विपीन बाह्रखरीसँग भन्छन्, “खलपात्रको रूपमा दर्शकले हेर्दा केही फरक पक्कै देखिनेछ ।”विपीन खलपात्रका रूपमा काम गर्दा आवरणमा देखिनेगरी फरकफरक चरित्रमा देखिन सहज हुने बताउँछन् । “प्रोटागोनिस्टमा काम गर्दा स्वर र लुक्समा धेरै परिवर्तन चाहेर पनि सम्भव हुँदैन,” विपीन अगाडि थप्छन्, “तर, एन्टागोनिस्टका रूपमा काम गर्दा आवरणसँगै स्वरमा पनि चाहेजसरी काम गर्न सकिन्छ ।” ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’मा विपीनसँगै दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, शिशिर वाङ्गदेल, सिर्जना गुरुङ, रिश्मा गुरुङलगायतको अभिनय छ । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।