कारभित्र लुकाएर काठमाडौं ल्याइँदै गरेको ३२९ ग्राम खैरो हेरोइनसहित ३ जना पक्राउ
२८ असार काठमाडौं ।लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले भारतीय सिमाना जोकवनीदेखि काठमाडौंसम्म कारभित्र लुकाएर ल्याइएको ३२९ ग्राम अवैध खैरो हेरोइन (ब्राउन सुगर) सहित तीन जनालाई पक्राउ गरेको छ। ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (SP) दुर्गा राज रेग्मीका अनुसार विशेष सूचनाका आधारमा काठमाडौं उपत्यकामा लागूऔषध भित्र्याउने गिरोहमाथि निगरानी राख्ने क्रममा उक्त सफलता मिलेको हो।
प्रहरीले पहिलो चरणमा मिति २०८३ असार २५ गते ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धि सडक खण्डबाट अनिल श्रेष्ठ लाई २९ ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको थियो। पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान र सोधपुछ गर्दा यो रैथाने गिरोहले भारतको जोगबनी नाकाबाट विराटनगर हुँदै काठमाडौंसम्म निजी कारमा लागूऔषध ओसारपसार गर्ने गरेको खुलासा भएको थियो।

श्रेष्ठको बयानका आधारमा ब्यूरोको टोलीले कडा निगरानी राख्ने क्रममा असार २७ गते हरिसिद्धि क्षेत्रमै एक निजी ब्रीजा कार (बा १७ च ८३७) लाई खानतलासी गरेको थियो। उक्त गुडिरहेको गाडीबाट थप ३०० ग्राम खैरो हेरोइन र लागूऔषध जोख्न प्रयोग गरिने डिजिटल तराजु बरामद गरिएको हो। सो गाडीमा सवार मुख्य ओसारपसारकर्ता जावेद आलम र बिकास भगतलाई प्रहरीले तुरुन्तै नियन्त्रणमा लिएको थियो।
१. अनिल श्रेष्ठ (३८ वर्ष): धुनिबेसी नगरपालिका वडा नं. ९, धादिङ।
२. जाबेद आलम (३५ वर्ष): कटहरी गाउँपालिका वडा नं. ४, मोरङ।
३. बिकास भगत (३४ वर्ष): खडक नगरपालिका वडा नं. ७, सप्तरी।
- अवैध खैरो हेरोइन: ३२९ ग्राम
- डिजिटल तराजु: १ थान
- ओसारपसारमा प्रयोग भएको Breeza गाडी: १ थान
- नेपाली नगद रूपैयाँ: ३०,०००/-
- मोबाइल फोन: ४ थान
पक्राउ परेका तीनै जना विरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर ब्यूरोले विस्तृत अनुसन्धान गरिरहेको छ।
