स्वास्थ्यमा तीन प्रतिशत समता शुल्क


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १ २०८३
931
SHARES

१ श्रावण काठमाडौं । सरकारले आर्थिक विधेयक २०८३ मार्फत ल्याएको स्वास्थ्यमा समता शुल्क साउन १ गतेदेखि लागु हुने भएको छ । सो शूल्क लागु भएसँगै निजी अस्पताल, ल्याब, नर्सिङ होम, पोलिक्लिनिक, निजी मेडिकल कलेजको सेवा थप महँगो हुने भएको हो । तीन प्रतिशत स्वास्थ्य समता शुल्क कार्यान्वयनमा ल्याएपछि प्रत्यक्ष मारमा बिरामी पर्छन् ।

नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८३ को १७ नम्बर बुँदामा भनिएको छ, “स्वास्थ्य समता शुल्क निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायकले बिरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा अनुसूची–८ बमोजिम स्वास्थ्य समता शुल्क लगाई असुल उपर गरिने छ ।”

यसअनुसार साउनदेखि निजी स्वास्थ्य संस्थाले बिरामीसँग लिने सबै शुल्कमा तीन प्रतिशतको दरमा यस्तो शुल्क तिर्नुपर्नेछ ।

आर्थिक ऐनको दफा १७ सँग सम्बन्धित अनुसूची–८ अनुसार स्वास्थ्य सेवा प्रदान गर्ने निजी संस्था, निकाय वा व्यक्तिले अनिवार्य रूपमा बिल जारी गरी यो शुल्क असुलउपर गर्नुपर्नेछ ।

यसरी संकलन गरिएको रकम र सोको विस्तृत विवरण प्रत्येक चौमासिक अवधि समाप्त भएको २५ दिनभित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गरिसक्नुपर्नेछ ।

सरकारले स्वास्थ्य समता शुल्क निर्धारण आदेशप्रति चित्त नबुझाउने व्यक्ति वा संस्थाका लागि प्रशासकीय पुनरवलोकन र पुनरावेदनको कानुनी प्रक्रिया स्पष्ट पारेको छ ।

नेपालको संविधानले समेत आधारभूत स्वास्थ्य निःशुल्क भनिरहेको बेला स्वास्थ्य सेवालाई थप महँगो बनाउने नीति सरकारले ल्याएको भन्दै सरोकारवालाले आपत्ति जनादै आएका छन् ।