हवाई फायर गरी १०३ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ८ २०८३
1.4K
SHARES

८ श्रावण काठमाडौं ।  धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ६ बाट प्रहरीले हवाई फायर गरी ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा भारतको मधुवनी जिल्ला घर भएका २८ वर्षीय सन्तोष कुमार महत्तो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन्।

प्रहरीका अनुसार शङ्कास्पद रूपमा हेरी खानतलासी गर्न खोज्दा स्थिति नियन्त्रणमा लिन र अभियुक्तहरूलाई भाग्न नदिन प्रहरीले हवाई फायर गर्नु परेको थियो। उनीहरूको साथबाट १०३ ग्राम ३२० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइएको ब्युरोका डीएसपी जीवन निरौलाले क्यापिटल हेडलाईनलाई जानकारी दिए ।