झन आक्रामक ‘गौँथली’ : शनिबार मात्रै कमायो १ करोड ८० लाख


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १० २०८३
1K
SHARES

१० श्रावण काठमाडौं । असार र साउन नेपाली फिल्म क्षेत्रका लागि ‘अफसिजन’ मानिन्छ। वर्षायामको समयमा दर्शकहरू खासै हलसम्म आउँदैनन् भन्ने निर्माताहरूको धारणा छ। जसकारणनै योबेला निर्माताले आफ्ना फिल्म रिलिज गर्न चाहदैनन्। यद्यपि, फाट्टफुट्ट साना बजेटका फिल्महरू भने रिलिज नहुने होइनन्।

तर, यसैबीच साउन १ गतेदेखि डा. कपिल रिजाल निर्देशित फिल्म ‘गौँथली’ प्रदर्शनमा आयो। यस फिल्मले पुरानो भाष्यलाई नै तोडिदिएको छ। किनकी अरुण क्षेत्री र सिम्रन खड्का अभिनीत फिल्मले पहिलो सातादेखिनै दर्शकहरूको उत्साहजनक साथ पाइरहेको छ। साथै फिल्म चल्न स्टार कलाकार चाहिन्छ भन्ने धारणालाई समेत चिरेको छ।

डा. भोला रिजालको कथा रहेको फिल्मले अझ दोस्रो सातामा त फिल्मले बक्सअफिसमा ठूलो छलाङ मारेको छ। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार हिजो शनिबार मात्रै यस फिल्मले १ करोड ८० लाखबढीको कमाइ गरेको छ। जुन यो फिल्मको प्रदर्शनयताकै उच्च कमाइ हो। साथै यस वर्षको सबैभन्दा धेरै एकदिने कमाइ हो। बोर्डका अनुसार यस फिल्मले आइतबार दिउँसोसम्म साढे ६ करोडको आकंडा पार गरिसकेको छ। सोमबारको बोर्डको तथ्यांक आउँदासम्म फिल्मले ७ करोड व्यापार गर्ने पक्का छ।

यस फिल्मको कथा मुख्य पात्र गौँथली (सिम्रन खड्का) जीवन वरिपरि घुम्छ। गौँथली जो पढेर आत्मनिर्भर बन्न चाहन्छिन्। तर, बाध्यताले बिहे गरेर उनले अर्को घर जानुपर्ने हुन्छ। त्यहाँ पुगेपछि आफूले बिहे गरेको व्यक्ति फरक क्षमता अर्थात् अटिज्म भएको थाहा पाउँछिन्। अब समाजको दायराभित्रै बाधिएकी गौँथलीले कसरी संघर्ष गर्छिन्रु यही नै ‘गौँथली’को मूल कथा हो। जुन कथालाई विशेषगरि आमा हजुरआमा पुस्ताले निकै रूचाइरहेका छन्।

स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको ‘लालीबजार’ यसवर्ष धेरै कमाउने फिल्म हो। झण्डै साढे ९ करोड व्यापार गरेको ‘लालीबजार’ लाई  ‘गौँथली’ ले उछिन्ला त? त्यो भने पछि थाहा हुनेछ।