२४ दिनमा ‘गौँथली’ले कति कमायो ?
२५ श्रावण काठमाडौं । बक्सअफिसमा ब्लकबस्टर चलचित्र ‘गौँथली’ले आफ्नो आकर्षक ग्रसकलेक्सनलाई निरन्तरता दिएको छ । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले आइतबारसम्म पौने २० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । हालसम्म यो चलचित्रले नेपाली बक्सअफिसमा मात्रै १९ करोड ७१ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
२४ दिनमा यो चलचित्रलाई सात लाख १५ हजार दर्शकले हेरेको चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकमा उल्लेख छ । ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।