‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ बाट प्रदर्शन
२ आश्विन काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’को छायांकन सुरु भएको छ । चलचित्रको आज शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको निर्माणपक्षले जनाएको छ । छायांकन सुरु गर्दै निर्माणपक्षले चलचित्रको रिलिज डेट पनि घोषणा गरेको छ । चलचित्र चैत ४ गतेबाट प्रदर्शनमा आउनेछ ।
चलचित्रको छायांकन पाँचखाल, पनौती र काठमाडौंमा हुनेछ । ‘म मदनकृष्ण’मा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । केकी अधिकारीले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् । अरुण क्षेत्री हरिवंश आचार्यको रोलमा देखिनेछन् । अरुणको अपोजिटमा वर्षा राउत देखिनेछिन् । उनले हरिवंश आचार्यको श्रीमतीको भूमिका निर्वाह गर्नेछिन् ।
मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर निर्माण हुने बायोपिक सिनेमा ‘म मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्दैछन् । मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ ।
चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी विनोद न्यौपाने, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहनेछ । भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।