सार्वजनिक ऋण पौने ३० खर्ब पुग्यो


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १४ २०८३
285
SHARES

१३ मंसिर काठमाडौं । नयाँ सरकार आएपछि झन थपिँदै गएको नेपालको सार्वजनिक ऋण पौने ३० खर्ब पुगेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार आर्थिक वर्षको शुरुवातमा कुल ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो । कात्तिक मसान्तसम्म विनिमय दरमा आएको परिवर्तनका कारण ४३ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको लाभ समायोजन भएको प्रतिवेदनमा उल्लेख छ ।

कुल सार्वजनिक ऋणमध्ये वैदेशिकतर्फ ५२.९३ र आन्तरिक ऋण ४७.०७ प्रतिशत रहेको छ । यो ऋण जीडीपीको ४५.०८ प्रतिशत बराबर हो ।सरकारले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ६५ अर्ब रुपैयाँभन्दा बढी सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । कत्तिक मसान्तसम्ममा १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ ऋण प्राप्त भएको प्रतिवेदनमा देखिन्छ । यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो ।

ऋण प्राप्तिको अवस्था हेर्दा आन्तरिकतर्फ वार्षिक लक्ष्यको ३०.४९ र वैदेशिकतर्फ ११.६२ प्रतिशत मात्र प्राप्ति भएको छ । कात्तिक मसान्तसम्म प्राप्त भएकोमध्ये आन्तरिक ऋणको हिस्सा ८१.२५ प्रतिशत र बाह्य ऋणको हिस्सा १८.७५ प्रतिशत रहेको छ ।यस हिसाबले हेर्दा सरकारको सार्वजनिक ऋण परिचालनमा आन्तरिक ऋणको निर्भरता बढी रहेको देखाएको छ । वार्षिक लक्ष्यको तुलनामा चार महिनामा करिब एक चौथाइ मात्रै ऋण प्राप्ति भएको छ । वैदेशिक ऋण प्राप्तिको गति भने तुलनात्मक रूपमा सुस्त देखिएको छ ।