पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ११ उम्मेदवार छानिए


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १४ २०८३
475
SHARES

१३ मंसिर काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि ११ जना उम्मेदवार छनोट भएका छन् । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि नियुक्ति सिफारिस कार्यविधि, २०८३ को दफा ६ को उपदफा (५) बमोजिम सम्पन्न रणनीतिक कार्ययोजनामा आधारित छनोट प्रक्रियाबाट सुरुमा १६ उम्मेदवार छानिएको थियो । ती १६ मध्येबाट पर्यटन क्षेत्रका विभिन्न समस्या समाधान परीक्षणका आधारमा उच्च अंक प्राप्त गर्ने ११ जनाको सूची तयार पारिएको हो ।

छनोट भएका ११ उम्मेदवारहरुमा आशुतोष प्रधान (चितवन), उत्तम प्रसाद देवकोटा (चितवन), टेक बहादुर महत (इलाम), नोजल कोइराला (मोरङ), युविका भण्डारी (काठमाडौं) छन् ।यसैगरी रोहिणी प्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्री प्रसाद भट्टराई (रुपन्देही), सुरेश सिंह बुडाल (बैतडी) र हिकमत सिंह ऐर (कञ्चनपुर) पनि ११ उम्मेदवारको सूचीमा परेका छन् ।

यसअघि गत कात्तिक २० गते सार्वजनिक १६ जनाको सूचीमा रहेका धर्मराज दवाडी (चितवन), राजाराम के.सी. (काठमाडौं), रामचन्द्र सेढाईं (गोरखा), विनोद अर्याल (पाल्पा) र सन्तोष विक्रम थापा (काठमाडौं) भने ११ जनामा परेनन् ।छनोट समितिले यी ११ जनाबाट ७ जना र ७ जनाबाट ३ जना छानेर कार्यकारी समितिलाई सिफारिस गर्ने छ । त्यसपछि एक जना नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदमा नियुक्त हुनेछन् ।

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पद गत वैशाख १९ गतेदेखि रिक्त छ । राजनीतिक नियुक्तिसम्बन्धी अध्यादेशमार्फत तत्कालीन कार्यकारी प्रमुख दीपकराज जोशीलाई सरकारले पदबाट हटाएपछि बोर्डको नेतृत्व रिक्त भएको हो । त्यसयता निमित्त नेतृत्वबाट बोर्डको प्रशासनिक काम सञ्चालन हुँदै आएको छ ।