मलाई हटाउने वैधानिक प्रक्रिया पुरा भएकै छैन – पूर्वसभापति देउवा


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १४ २०८३
437
SHARES

१३ मंसिर सुर्खेत । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू अझै पनि पार्टीको वैधानिक सभापति रहेको दाबी गर्दै अदालतबाट न्याय पाउनेमा विश्वस्त रहेको बताएका छन् । पार्टीभित्र नेतृत्व र आधिकारिकताको विवाद चलिरहेका बेला देउवाले आफूलाई सभापतिबाट हटाउने वैधानिक प्रक्रिया पूरा नभएकाले सभापति आफू नै रहेको जिकिर गरेका हुन् ।

देउवा पक्षले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको नेपाली कांग्रेस कर्णाली प्रदेश अधिवेशनको उद्घाटन  गर्दै उनले आफूले राजीनामा नदिएको र पार्टी विधानअनुसार अविश्वासको प्रस्तावबाट दुईतिहाइ बहुमतले हटाउने प्रक्रिया पनि पूरा नभएको बताए ।“जस्तोसुकै अवस्थामा पनि सभापति मै हुँ, अब महाधिवेशनमा निष्पक्ष निर्वाचन हुन्छ । चुनावबाट जित्ने सभापति हुन्छ,” उनले भने ।

आफूलाई अदालतप्रति राजतन्त्रकालदेखि नै विश्वास रहेको उल्लेख गर्दै देउवाले अहिलेको विवादमा पनि अदालतबाट आफ्नो पक्षमा फैसला आउनेमा पूर्ण विश्वस्त रहेको बताए । उनले आफूले पार्टी नेतृत्वका लागि पाउनुपर्ने सबै अवसर पाइसकेको भन्दै अब नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने धारणा राखे । पाँचपटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै उनले आफूले राजनीतिक जीवनमा धेरै जिम्मेवारी पूरा गरिसकेको बताए । आगामी महाधिवेशन निष्पक्ष निर्वाचनका माध्यमबाट हुनुपर्ने र निर्वाचनबाट विजयी हुने व्यक्ति नै सभापति बन्नुपर्ने उनको भनाइ थियो ।