रुपन्देहीको देवदहमा गोली चल्यो


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १८ २०८३
247
SHARES

१८ असोज बुटवल । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली फायर हुँदा बुटवलका एक युवक घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पेस्तोल र गोलीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका अनुसार देवदह नगरपालिका–५ मा ४२ वर्षीय दीपक खरेल भनिने दुर्गाप्रसाद खरेलले पेस्तोलबाट एक राउन्ड गोली फायर गरेका थिए ।

गोली फायर हुँदा बुटवल उपमहानगरपालिका–९ मिलनचोकका २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका छन् । गोली लाग्दा उनको दाहिने गालाको छाला च्यात्तिएको प्रहरीले जनाएको छ ।घाइते खत्रीको देवदह मेडिकल कलेज, भलुहीमा उपचार भइरहेको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले खरेलसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा देवदह नगरपालिका–५ मितेरी गाउँका ४२ वर्षीय दीपक खरेल भनिने दुर्गाप्रसाद खरेल, ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेल रहेका छन् ।प्रहरीले खरेलको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।