सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २३ २०८३
513
SHARES

२३ असोज काठमाडौँ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल सेवाबाट बर्खास्त भएका छन् । गृह मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी उनलाई सशस्त्र प्रहरी सेवाबाट हटाउने विभागीय कारबाही गरेको हो ।गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा दाहालले आचरणसम्बन्धी नियम बारम्बार उल्लङ्घन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत सङ्गठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्‍याउने कार्य गरेको उल्लेख छ।

यसअघि सूचना चुहावटको आरोपमा दाहाल असोज १९ गते निलम्बनमा परेका थिए । गृह मन्त्रालयस्रोतका अनुसार सशस्त्र प्रहरीका अर्का एआईजी अञ्जनीकुमार पोखरेलले गरेको छानबिनपछि दाहाललाई भविष्यमा सरकारी सेवामा समेत अयोग्य हुने गरी बर्खास्त गर्न सिफारिस गरिएको थियो ।

दाहालमाथि प्रधानमन्त्री तथा गृहमन्त्रीहरूको व्यक्तिगत समयको निगरानी र सूचना चुहावट गरेको आरोप लागेको थियो । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको मोबाइलको प्राविधिक परीक्षणका क्रममा दाहालसँग सम्बन्धित सूचना फेला परेको सशस्त्र प्रहरी स्रोतले जनाएको थियो

दाहाल पूर्वप्रधानन्यायाधीश राणाका ज्वाइँ नाता पर्छन् । असोज ११ गते राणा बाँसबारीस्थित निवासबाट पक्राउ परेपछि दाहाल उनलाई हिरासतमा भेट्न पुगेका थिए ।

विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका व्यवसायी दीपक भट्टलाई छुटाउन राणाले चलखेल गरेको र त्यसमा दाहालको भूमिका देखिएको दाबी पनि सशस्त्र प्रहरी स्रोतले गरेको थियो ।

गृह मन्त्रालयको विज्ञप्तिमा भने दाहाललाई सेवाबाट हटाउनुको कारणका रूपमा आचरण उल्लंघन, अनुशासनहीनता र संगठनको छविमा आँच पुर्‍याउने कार्यलाई उल्लेख गरिएको छ ।