म कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन – सभापति थापा


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक २० २०८३
361
SHARES

१९ कात्तिक काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू नैतिक रूपमा बलियो धरातलमा उभिएको बताएका छन् । बिहीबार दिउँसो भिडियो सन्देश सार्वजनिक गर्दै उनले आफ्नो इमानदारी र नैतिकतामाथि प्रश्न उठाउन खोजिएको भन्दै त्यसको प्रतिवाद गरेका हुन् ।बिचौलिया भनिएका इनम सापकोटासँग जोडेर कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आफूलाई बदनाम गर्न खोजिएको थापाको भनाइ छ । उक्त प्रकरणमा आफ्नो कुनै दोष नरहेको थापाको दाबी छ । उनले आफ्नो हातमा दाग र मनमा कुनै कालो नभएको उल्लेख गरे ।

“म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन । मैले सधैँ भन्दै आएको छु, मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन । मेरो हात सधैँ सफा छन् । यति नभएको भए लड्ने आँट आउँथ्यो ?” उनले भने ।नैतिक रूपमा आफू बलियो भएकै कारण सरकारका गलत कामविरुद्ध लड्ने आँट आएको थापाको भनाइ छ । विगतमा आफूभन्दा शक्तिशाली सरकारका गलत कामको समेत विरोध गर्दै आएको उल्लेख गरे । उनले आफ्नै पार्टीको सरकार हुँदा पनि गलत कामविरुद्ध बोल्न नछाडेको बताए ।

“म आज मात्र हो ? योभन्दा बलियो सत्ता भएको समयमा गलत गरेको बेला त्यससँग लडेर प्रश्न गर्दै आएको छु । आफ्नै पार्टीको सरकार हुँदा पनि गलत हुँदा बोल्न छाडिनँ,” उनले भने, “बोल्ने आँट कहाँबाट आउँछ ? कतै कमजोर भएको भए, मेरो स्वच्छता र इमानदारीमा सम्झौता गरेको भए बोल्ने आँट आउँथ्यो ? आउँदैनथ्यो ।”

आफ्नो चरित्रमाथि प्रश्न उठाउने र विवादमा तान्ने प्रयास भइरहेको भन्दै थापाले सरकारबाट प्रायोजित अडियो सार्वजनिक गरिएको दाबीसमेत गरे । पटक–पटक विभिन्न विवाद र चुनौतीको सामना गरेर आफू अघि बढेको उनको भनाइ छ । उनले त्यसको आधार आफ्नो नैतिक बल र स्वच्छता भएको बताए ।

“मेरो वरिपरि विवाद ल्याइएको छ । व्यापक रूपमा मेरो चरित्रमाथि प्रश्न गरिएको छ । प्रत्येक पटक लडेर आएको हुँ म, प्रत्येक पटक बाँचेर आएको हुँ । ढलेको छैन नि म । किन थाहा छ ?,” गगनको भनाइ छ, “तपाईंहरूको शुभेच्छा, आशिर्वाद आफ्नो ठाउँमा छ । सबैभन्दा ठूलो कुरा मेरो मोरल स्ट्रेन्थ हो । यो लडाइँमा म किन बाँचेको छु भने म सफा छु, स्वच्छ छु र ठिक ठाउँमा उभिएको छु । त्यसैले ढुक्क रहनुस्,”थापाले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई विचलित नहुन र आफूलाई विश्वास गर्न आग्रह गरेका छन् ।