तिहारका लागि बजार झारिए हिमाली च्याङ्ग्रा
२२ कात्तिक बागलुङ । तिहारको आगमनसँगै हिमाली च्याङ्ग्रा धमाधम सहर–बजार भित्रिन थालेका छन् ।चाडपर्वमा हिमाली च्याङ्ग्राको मासु खाने प्रचलन रहेकाले व्यापारीले बागलुङ, पर्वत, कास्की, काठमाडौँ, चितवन र बुटवलसम्म च्याङ्ग्रा पुर्याउन थालेका हुन् । पछिल्लो एक सातादेखि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै डोल्पा र तिब्बतबाट भेडा च्याङ्ग्रा आइरहेका छन् ।
अघिल्ला वर्षमा दसैँताका हजारौँ संख्यामा भेडाच्याङ्ग्रा भित्रिने गरेकोमा यस वर्ष बाढी पहिरोका कारण निकै कम संख्यामा आएका छन् । बागलुङ आउने मालढुङ्गा पुलको पहुँचमार्ग बाढीले बगाएपछि दसैँमा च्याङ्ग्रा भित्राउन समस्या थियो । बागलुङमा रोज्जा च्याङ्ग्राको मूल्य ३५ देखि ५२ हजार रुपैयाँसम्म छ ।
डोल्पा–मुस्ताङको सिमानाबाट करिब २३ दिनको यात्रामा बागलुङ आइपुगेको व्यापारी दिक्पाल गुरुङले बताए । दसैँको बेला बाढीपहिरोले गर्दा च्याङ्ग्रा बजार झार्न नसकेको र अहिले मौसम राम्रो भएकाले ३ सय च्याङ्ग्रा ल्याएको उनले बताए । ‘हामीले ल्याएका च्याङ्गा केही मुस्ताङका हुन् । केही डोल्पाका हुन् । काठमाडौँसम्म पु¥याउने भन्ने योजना हो । हेरौँ अब कस्तो हुन्छ,’ उनले भने । बागलुङ बजारमा च्याङ्ग्राको मूल्य प्रतिकिलो २ हजार २०० सम्म परेको उपभोक्ता विजय पौडेलले बताए । गत वर्ष प्रतिकिलो १९ सय रुपैयाँसम्म च्याङ्ग्राको मासु पाइने गरेको उनले सुनाए ।बाढीपहिरोका कारण च्याङ्ग्राको मासुको मूल्य बढेको हुनसक्ने पौडेलको अनुमान छ । हिमाली च्याङ्ग्राको मासु अन्य पशुभन्दा बढी स्वादिष्ट र स्वस्थकर हुने भएकाले माग बढ्ने गरेको उनको विश्वास छ ।