उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २५ २०८३
608
SHARES

२५ असोज काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको अन्तिम मत परिणाम आइतबार राति सार्वजनिक भएको छ । प्राप्त अन्तिम मत परिणामअनुसार उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य र बिनोद कुमार चौधरी तथा महामन्त्री पदमा प्रदिप पौडेल, उदय शम्शेर राणा र डा. डिला सङ्ग्रौला (पन्त) निर्वाचित भएका छन् ।

उपसभापति खुल्लातर्फ डा. चन्द्रकान्त भण्डारीले सर्वाधिक ३,७३५ मत र ई. मधु आचार्यले २,३४२ मत प्राप्त गरी जित हासिल गरेका छन् । यस पदका अन्य प्रतिस्पर्धीहरूमा गोविन्द भट्टराईले १,७५२, सुरेन्द्रराज पाण्डेले १,६७३, धनराज गुरुङले १,५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्र मोहन यादवले ७६० मत प्राप्त गरे ।

त्यस्तै, उपसभापति समावेशी (एक पद) तर्फ बिनोद कुमार चौधरी १,७४५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १,६५८, फरमुल्लाह मंसुरले १,१४४, सीता गुरुङले १,११२ र रंजीत कर्णले ५६२ मत प्राप्त गरेका छन् ।

महामन्त्री खुल्लातर्फ प्रदिप पौडेलले सर्वाधिक ४,१९४ मत र उदय शम्शेर राणाले २,३३० मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । यस स्पर्धामा डा. सुनिलकुमार शर्माले २,२५७, गुरुराज घिमिरेले १,५१३, नैन सिंह महरले १,१३४, अमरसिंह पुन मगरले १,१२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाए ।

यसैगरी, महामन्त्री महिला (एक पद) तर्फ डा. डिला सङ्ग्रौला (पन्त) ३,११८ मतका साथ निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २,८६४ र रीता खनालले ८०४ मत प्राप्त गरिन् ।