सरकार नागरिक स्वतन्त्रता खोस्ने दिशामा अघि बढेको छ – महामन्त्री पौडेल


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०८३
418
SHARES

२२ कात्तिक काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको स्वतन्त्रता खोस्ने दिशामा सरकार अघि बढेको आरोप लगाएका छन् ।आइतबार काठमाडौँको टोखामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नागरिक स्वतन्त्रतालाई नियन्त्रण गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै निरङ्कुश शासन व्यवस्था हाबी हुन लागेको बताएका हुन् ।

प्रधानमन्त्रीका सल्लाहकारले आफूविरुद्धका प्रमाण मेटाउने र आफूलाई अनुकूल हुने प्रमाण मात्रै सार्वजनिक गर्ने गरेको आरोपसमेत उनले लगाए । अहिलेको व्यवस्था ल्याउन कुनै योगदान नगरेकाहरूलाई जनताले दुईतिहाइ मत दिएको उल्लेख गर्दै उनले जनमतको दुरुपयोग नगर्न सरकारलाई सुझाव दिए ।

त्यस्तै, महामन्त्री पौडेलले नेपाली कांग्रेसको बृहत् एकताका लागि आफूले अधिकतम प्रयास गरिरहेको बताए । विधिको शासन भएको देशमा एउटै पार्टीका दुई सभापति तथा एउटै पार्टीका दुई झन्डा र चुनाव चिह्न हुन नसक्ने उनको भनाइ थियो ।कांग्रेसको अर्को पक्षका गतिविधि विधिको शासनविपरीत रहेको आरोप लगाउँदै उनले पार्टीभित्रको विवाद समाधानका लागि विधि र प्रक्रियाको पालना हुनुपर्ने धारणा राखे ।