लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपण


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०८३
228
SHARES

२२ कात्तिक काठमाडौँ । आज लक्ष्मीपूजाका दिन विद्युतको अधिकतम माग करिब १ हजार ७ सय मेगावाट पुग्ने अनुमान नेपाल विद्युत प्राधिकरणले गरेको छ। उक्त माग धान्ने विद्युत् आन्तरिक उत्पादनबाटै उपलब्ध हुने पनि प्राधिकरणले जनाएको छ। अहिले नेपालमा विद्युतको कुल उत्पादन करिब २ हजार ५०० मेगावाट हाराहारी छ। यसअनुसार मागभन्दा करिब ८०० मेगावाट बढी विद्युत् उत्पादन हुने देखिएकोले लक्ष्मीपुजाको दिन चाहिने विद्युत आन्तरिक उत्पादन बाटै पुग्ने अवस्था बनेको हो।

आन्तरिक उत्पादनले नै माग धान्ने अवस्था रहेकाले यस वर्ष तिहारभर विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणका अधिकारीहरू बताउँछन। लक्ष्मीपूजा तथा तिहारका अन्य दिनमा समेत विद्युत् आपूर्ति सहज र भरपर्दो बनाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

तिहार र त्यसपछि आउने छठ पर्वलाई लक्षित गर्दै प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई व्यवस्थित र चुस्त राख्न विशेष तयारी गरेको छ।प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको उच्च व्यवस्थापन तथा प्रादेशिक प्रमुखहरूको बैठकले पर्वका समयमा विद्युत् आपूर्ति नियमित बनाउन आवश्यक निर्देशन दिइसकेको छ।

विद्युत् प्रणालीमा कुनै प्राविधिक समस्या देखिए तत्काल समाधान गरी सेवा पुनः सञ्चालन गर्न प्राविधिक टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ। उपभोक्ताका गुनासो तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवालाई प्रभावकारी बनाउने र सेवामा आउने फोन नियमित उठाउने व्यवस्था पनि मिलाइएको छ।

प्राधिकरणले तिहारका बेला विद्युत् प्रयोग गर्दा सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरेको छ। घरमा प्रयोग भइरहेका विद्युतीय उपकरण, तार तथा अन्य सामग्रीको अवस्था जाँच गर्न र गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न प्राधिकरणको सुझाव छ।