चीन र भारतसहित १६ देशमाथि थप ट्यारिफ घोषणा गर्दै अमेरिका
९ मंसिर काठमाडौं । अमेरिकाले आफ्ना १६ प्रमुख व्यापार साझेदार देशमा रहेका भनिएका अतिरिक्त औद्योगिक क्षमतासम्बन्धी छानबिनको निष्कर्ष तत्काल सार्वजनिक गर्ने तयारी गरेको छ ।छानबिनबारे जानकार स्रोतले निष्कर्ष सार्वजनिक भएपछि विभिन्न वस्तुमा थप आयात शुल्क लगाउने तयारी रहेको बताएका छन् ।अमेरिकी व्यापार प्रतिनिधि (यूएसटीआर) को कार्यालयले ट्रम्पको दोस्रो कार्यकालमा यसअघि लागु गरिएका शुल्कमाथि थप नयाँ शुल्क प्रस्ताव गर्ने अपेक्षा गरिएको छ ।
अतिरिक्त औद्योगिक क्षमता भन्नाले बजारको मागभन्दा बढी उत्पादन गर्न सक्ने अवस्था हो । कुनै उद्योगले आफ्नो कुल उत्पादन क्षमताभन्दा कम उत्पादन गर्दा पनि यस्तो अवस्था सिर्जना हुन्छ ।प्रस्तावित शुल्कले गत फेब्रुअरीमा अमेरिकी सर्वोच्च अदालतले खारेज गरेका केही शुल्कको ठाउँ आंशिक रूपमा लिने अपेक्षा गरिएको छ ।
नयाँ शुल्कको दर कति हुनेछ भन्ने स्पष्ट नभइसकेको बताइएको छ । स्रोतका अनुसार प्रत्येक देशका लागि छुट्टाछुट्टै दर निर्धारण गरिनेछ । यद्यपि, मेक्सिको र नर्वेबाट आयात हुने वस्तुमा तत्काल शुल्क लाग्ने सम्भावना कम रहेको अर्को एक स्रोतले बताएको छ ।
वाल स्ट्रिट जर्नलको एक रिपोर्टअनुसार भारतले जापान र युरोपेली संघजस्ता अर्थतन्त्रको तुलनामा बढी अमेरिकी शुल्कको सामना गर्नुपर्ने हुन सक्छ ।यूएसटीआरले सन् १९७४ को व्यापार ऐनको दफा ३०१ अन्तर्गत अतिरिक्त औद्योगिक क्षमताको प्रमाण रहेको भन्दै अमेरिकाका अधिकांश ठूला व्यापार साझेदार देशमाथि छानबिन गरिरहेको छ ।