दिवंगत मन्त्री अधिकारीको जीवनी
१६फाल्गुन काठमाडौं।संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीको हिजो हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ । २०७४ साल चैत २ गते नेपाल सरकार मन्त्रीपरिषदको सदस्यमा नियुक्त उनको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा निधन भएको हो । उनै दिवंगत मन्त्री अधिकारीको जीवनी यस्तो थियो ।
२०२६ बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मिएका रबिन्द्र अधिकारी, आफ्नो गाउँकै श्री ब्रह्म ज्योति प्रा. बि. शान्ति पंधेरा गैरागाऊं बाट प्राथमिक शिक्षा र शान्ति उदय मा.बि. हालको उच्च मा.बि. बरपाण्डेथुम बाट माध्यामिक शिक्षा हासिल गरेका थिए ।
बुवा इन्द्रप्रसाद अधिकारी माध्यमिक बिद्यालयका शिक्षक थिए जसका कारण पनि उनलाई शिक्षाका लागि राम्रो बाताबरण घरदेखि नै थियो । सानै उमेर देखि राजनीतिक गतिबिधिमा चासो राख्ने अधिकारी बिद्यालयमा अनेरास्ववियु, रेडक्रस, र क्लबहरुमा संलग्न भए । बिद्यार्थीका लागि निशुल्क कोचिंग कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसन, लगायतका मध्यमबाट राजनितिक जागरण सृजना गर्न सफल अधिकारी हाईस्कुले जीवनमा बिद्यालयका जेहन्दार, लगनशील अध्ययनशील, र अनुशासित बिद्यार्थी थिए ।
बिद्यार्थी राजनीति र उच्च शिक्षा
प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएको भए पनि केही समय पछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गरे । विद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगे पछि विद्यार्थी राजनीतिक गतिबिधिमा सक्रिय रहेका उनले २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य ,२०४५ सालमा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, २०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्ववियु सभापति निर्वाचितत भए ।
२०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्ययक्ष बनेका अधिकारी २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित भएका थिए ।
त्रि.बि. बाट ब्यबस्थापनमा स्नातकोत्तर गरेका उनले संबिधानसभा लोकतन्त्र र पुनर्संरचना पुस्तक २०६३ मा प्रकाशित गरेका थिए । बिगत दुई दशक देखि उनका सयौ अनुसन्धान र राजनीतिक लेखहरु छापिएका छन् । २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन गरेका अधिकारी अहिले पनि बिभिन्न क्याम्पसहरुमा अतिथिकोरुपमा अध्यापन गर्दै आएका थिए । एशियाली बिद्यार्थी संगठन, बिश्व प्रजातान्त्रिक युबा संघ लगाएत अन्तराष्ट्रिय युबा बिद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गरेका अधिकारीले बिभिन्न अन्तराष्ट्रिय सम्मलेनमा भाग लिएका थिए ।
बिद्यार्थी आन्दोलन र जेल
अधिकारी पंचायतकालमा बिद्यार्थी आन्दोलन स्वतन्त्रता,प्रजातन्त्र, प्राज्ञिक स्वतन्त्रताको पक्षमा क्रियाशील थिए । पञ्चायती निरंकुशतालाई समाप्त पार्ने आन्दोलनको अभिष्ट थियो । शैक्षिक मुद्दा र माग पनि ब्यबस्था संग नै जोडिएका हुन्थे । आजको आबश्यकता संयुक्त संघर्ष प्रजातन्त्रका लागी पञ्चायतको अन्त्य भन्ने नाराका साथ ०४६को जनआन्दोलनमा क्रियाशील रबिन्द्र पञ्चायतकालमा पटकरपटक गरि छ महिना जेल र हिरासतमा बिताएका थिए ।
०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो । त्यतिबेला उनी क्याम्पस, जिल्ला र सयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले सफल नेतृत्व गरेका थिए । २०४६को परिबर्तन पछि बिद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ भन्ने बिचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गरे । कलेज भवन निर्माण, क्याम्पसगेट, बाटो निर्माण, शैक्षिक बाताबरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप शैक्षिक गुणस्तर सुधार,क्याम्पसमा बिद्यार्थीको पोशाक आदि कुराहरुमा ठूलो सुधार र परिवर्तन भयो ।
त्रिबि का स्वबियु सभापति हुदाँ पुस्तकालय, शैक्षिक बाताबरण, शैक्षिक गुणस्तर खेल मैदान निर्माण, प्रबेश परीक्षा, बरिष्ट प्राध्यापकहरुको सम्मान जस्ता रचनात्मक कार्यक्रम संचालन गरेर लोकप्रियता कमाउनु भएका अधिकारीले बिश्वबिद्यालयमा निरंतर प्राज्ञिक बहस संचालन गर्थे
नेकपा एमालेको पार्टी राजनीतिमा
२०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित भएका थिए । २०४० मा इलाका पार्टी कमिटीमा,२०४६र४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यस पछि लगातार जिल्ला कमिटीमा सक्रिय रहेका थिए । २०६० मा पार्टीको कास्की जिल्ला कमिटीको सचिब र ०६३ मा पनी पुनः सचिबमा निर्वाचित भए ।
६२ र ६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन बिरुद्दको आन्दोलनमा पटक पटक गरी पाँच महिना जेल बसे । पार्टीको राष्ट्रिय परिषद् सदस्य, अन्चल कमिटी सदस्य भएर काम गरेका अधिकारी पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य, केन्द्रीय पार्टी स्कुल बिभाग र संसदीय बिभागको सदस्य थिए । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकिकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समितिका सदस्य थिए ।
संसद र संबिधान सभा
२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भए । सार्बजनिक लेखा समितिमा रहेर जलबिद्युत,फ्रिक्योंसी,सार्बजनिक संस्थान,बैंक, उद्योग, सेना, बिकास खर्च, मेसिन रिडएबल पासर्पोर्ट आदि बिषयमा बिभिन्न उपसमितिमा रहेर त्यसको नेतृत्व गरी काम गरेका थिए । संबिधानसभामा राष्ट्रिय हितको संरक्षण समिति र युबाहरुको दबाब समिति निर्माण गरी संबिधान सभा निर्माणमा निरन्तर खबरदारी गरेका थिए ।
संबिधानसभा निर्माणमा सुरक्षा र अन्तराष्ट्रिय सीमाका बिषयमा उपसमितिको नेतृत्व गरेका थिए । २०७० को चुनाब पछि संसदको बिकास समितिमा सभापति भए । संसद्को बिकास समितिमा रहदा नेपालमा बिकासको बहसलाई नयाँ उच्चाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य बिकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल रहे ।
२०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नं. २ बाट निर्वा्चित भएका थिए । लगातार तेश्रो पटक निर्वा्चित अधिकारी हाल नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री थिए । उनी २ चैत २०७४ मा उनी मन्त्रीमा नियुक्त भएका थिए ।
बिदेश भ्रमण
बिद्यार्थी नेता,पार्टी नेता र संबिधानसभारसंसद सदस्यका हैसियतले नेपालको प्रतिनिधित्व गरेर उनले अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाईलैण्ड, भियतनाम, इटाली, श्रीलंका, रूस, क्यूबा, पाराग्वे, दक्षिण अफ्रीका, अल्जेरिया, कम्बोडिया, नर्वे, लगायतका देशको भ्रमण गरेका थिए ।