बर्लिन पर्यटन मेलाबाट बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत
२४फाल्गुन काठमाडौं।बर्दिया राष्ट्रिय निकुञ्ज विश्व कै ठूलो पर्यटन मेला आइटिवी बर्लिन जर्मनीमा पुरस्कृत भएको छ ।निकुञ्जले १०० दीगो पर्यटन गन्तब्यहरु मध्ये एसिया प्यासेफिक क्षेत्रबाट दीगो गन्तब्यका रुपमा पुरस्कार पाएको हो । फागुन २२ गते आयोजित एक भब्य समारोहकाबीच बर्दियाले उत्तरदायी पर्यटनमा गरेको प्रयत्नहरु र यसको संरक्षणमा भएको विशिष्टतालाई कदर गर्दै आइटिवी मेला आयोजक र ग्रिन डेस्टिनेशन संस्थाले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका हुन् ।
डा. अल्बर्ट सल्मान प्रमुख रहनु भएको यस सय दीगो पर्यटन गन्तब्यहरुको छनोट प्रक्रियामा विशेषत दीगो विकासमा काम गर्ने विभिन्न संघ संस्थाहरुको सहकार्य रहेको थियो । बर्दिया राष्ट्रिय निकुञ्जको यही विशेषताहरुको जानकारी विश्यब्यापी गराउने नेपाल पर्यटन बोर्डको अभियानलाई अगुवाइ गर्ने प्रमुख कार्यकारी दीपकराज जोशीले बर्दियाका लागि यस सम्मानको ग्रहण गरेका थिए ।
सम्मान ग्रहणपछि बोल्दै जोशीले बर्दिया विशिष्ट दीगो गन्तब्य भएको बताए र सहकार्य गर्ने सबै संस्था विशेषत डब्लु डब्लु एफ, राष्ट्रिय प्रकृति संरक्षण कोष, इको टुरिज्म सोसाइटी बर्दिया लगायत स्थानियहरुलाई धन्यवाद दिए।
यस पुरस्कारसँगै नेपाल ग्रिन डेस्टिनेशन ग्लोबल लिडर्स नेटवर्कमा समावेश भएको छ । दीगो पर्यटन विकासमा काम गर्ने संस्थाहरुको सर्वोच्च संस्थाका रुपमा रहेको यस नेटवर्कमा समावेश हुन पाउनु आफैमा गौरवको कुरा हो ।नेपालले विशेषत दीगो पर्यटन विकासका क्षेत्रमा गरेको पहल, बर्दिया लगागतका क्षेत्रमा बाघको संख्यामा देखिएको दोहोरो बृद्धिका कारणहरु नै बर्दियालाई यो सम्मान प्रदान गरिएको हो ।