संखुवासभा हत्याकाण्ड : अभियुक्तको ‘क्लु’कै खोजीमा प्रहरी
२२ भदौ काठमाडौं । संखुवासभामा आइतबार राति भएको एकै परिवारका ६ जनाको हत्या प्रकरणको अनुसन्धान जारी छ । प्रहरीले अभियुक्तको ‘क्लु’कै खोजी गरिरहेको छ ।
प्रहरी अधिकारीहरूका अनुसार घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुरको प्रयोग गरिएको छ । यसअघि, हिजो पानी परेकाले कुकुरको प्रयोग गरिएको थिएन । मादी नगरपालिका–१, उमलिङस्थित धारिलो हतियार प्रयोग गरी एकै परिवारका ६ जनाको हत्या गरिएको थियो ।
पार्वती कार्की घरमा मृत फेला परेकी थिइन् । उनका छोरा तेजबहादुर कार्की सडकको भित्तामा, बुहारी कमला र नातिनी रञ्जना खोलामा, आठ वर्षको नाती विपीन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्की बारीमा फेला परेका थिए ।
अनुसन्धानमा केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले समेत सहयोग गरिरहेको छ । सामान्य परिवारका ६ जनाको हत्याको कारण खोज्न आफूहरू सक्रिय रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।