एमाले प्रवेश गर्न लागेको बारे करिष्माले यस्तो भनिन्


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक ५ २०७८
6.3K
SHARES

५ कात्तिक काठमाडौं ।आज नायिका करिष्मा मानन्धरले आफू एमालेमा प्रवेश गरेको वा गर्न लागेको हल्लामा सत्यता नरहेको प्रष्ट पारेकी छिन् । आफू तत्काल कुनै पनि राजनीतिक दलमा जाने मनस्थितिमा नरहेको उनले बताइन् ।

“मैले यस अगाडि पनि धेरै ठाउँमा भनिसकेको छु, म तत्काल कुनै पनि राजनीतिक दलमा जाने सोचमा छैन भनेर,” उनले भनिन्, “म चलचित्र बनाउँदैछु भनेर धेरैलाई थाहा पनि छ । कोही कसैलाई भेट्दैमा वा गफ गर्दैमा उसको पार्टीमा जान्छ भन्ने हुँदैन ।”

आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको तर राजनीतिक विषयमा खासै धेरै कुरा नभएको उनको दाबी छ । अध्यक्ष ओलीसँगको भेटमा पार्टी प्रवेशका विषयमा कुरा नभएको उनले बताइन् ।

“अरु–अरु थुप्रै विषयमा कुरा भए । सिनेमा हलहरु बन्द  छन् । सिनेमा क्षेत्र बन्द छ अब कसरी सहज अवस्थामा फर्काउने भन्ने विषयमा कुरा भयो । चलचित्रका विषयमा कुरा भयो,” उनले भनिन्, “म अहिले मुन्द्रेको कमेडी क्ल्बमा रहेकाले यस विषयमा पनि कुरा भयो । मलाई लाग्छ यो स्वाभाविक पनि हो ।”

राजनीतिक व्यक्तिलाई भेट्दैमा उसको पार्टीमा गइहाल्ने र विचार मन पर्यो भन्दैमा राजनीतिक दलमा आबद्ध भइहाल्ने भन्ने अनुमान र सोचाइ नै गलत भएको उनको भनाइ छ । 

कक्षा १२ काे परीक्षा दिइरहेकी करिष्मालाई ओलीले फोन गरेर परीक्षा के–कस्तो भइरहेको छ भनेर सोधेका थिए । त्यसपछि करिष्माले ओलीले राजनीतिकसँगै अन्य क्षेत्र र व्यक्तिबारे पनि चासो राख्ने गरेको भन्दै ओलीको प्रशंसा गर्दै धन्यवाद केपी बुबा भनेकी थिइन् ।

“उहाँको नजिक बसेर विविध विषयमा उहाँको विचारहरु सुन्दा आनन्द आयो । सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिनु भएकोमा र चासो मानेर कुरा सुनिदिनु भएकोमा आदरणीय केपी ओली ज्युलाई धेरै धन्यवाद,” ओलीसँगको भेटपछि उनीसँगको तस्बिरसहित करिष्माले लेखेकी थिइन् ।

करिष्मा डा. बाबुराम भट्टराई नेतृत्त्वको तत्कालीन नयाँ पार्टीमा केही समय सक्रिय भएकी थिइन् । उक्त पार्टीबाट बाहिरिएपछि उनी हालसम्म कुनै पनि राजनीतिक दलमा आबद्ध छैनन् । करिष्मा अब चलचित्र निर्माणमा सक्रिय हुने बताउँदै आएकी छिन् ।