माओवादीलाई भोट माग्नु अहिलेको आवश्यकता हो – महामन्त्री शर्मा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २३ २०७९
2.2K
SHARES

२३ वैशाख काठमाडौं। नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले संविधान रक्षाका लागि चुनावी गठबन्धन गरिएको बताएका छन्। तर, काँग्रेस कमजोर भएर गठबन्धन नगरिएको उनले प्रष्ट्याए। शर्माले संविधान रक्षाका लागि तालमेलबाट उम्मेदवार बनेका सबैलाई मतदान गर्न आग्रहसमेत गरे।

माओवादीलाई भोट माग्नु आफूहरूको रहर नभएको उनको भनाई छ। रुपन्देहीको तिलोत्तमामा बिहीबार भएको चुनावी सभामा शर्माले भने, ‘काँग्रेस कमजोर भएर होइन, संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो। काँग्रेसको प्रचारमा हिँडेका कार्यकर्तालाई माओवादीलाई भोट माग्दा अप्ठ्यारो महसुस हुन्छ, तर पनि संविधानको रक्षाको लागि एक दिन मन थामेर तालमेलका उम्मेदवारलाई मतदान गर्नुहोस्।’

उनले आ-आफ्नो दलको प्रचारमा हिँडेका कार्यकर्ताले अन्य दलमा मतदान गर्न मनले नमाने पनि एकचित्त बुझाएर तालमेल गरेका उम्मेदवारलाई जिताउन आग्रह गरे। शर्माले भने, ‘तालमेल भएका ठाउँमा इमान्दारीतापूर्वक मतदान गरौं।’ उनले काँग्रेस र एमाले दुवैको घोषणापत्र पढेर विवेक पुर्‍याएर मतदान गर्न पनि आग्रह गरेका थिए।