ओलीले देशलाई प्रतिगमनतर्फ धकेल्ने काम गरे – नेता श्रेष्ठ
२३ वैशाख काठमाडौं। जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले नेकपा एमाले र केपी शर्मा ओलीबाट लोकतन्त्र र संविधानमाथि प्रहार भएको बताएका छन्। काठमाडौंमा आयोजित चुनावी सभामा नेता श्रेष्ठले एमाले अध्यक्ष ओलीले देशलाई प्रतिगमनतर्फ धकेल्ने काम भएको आरोप लगाए।
उनले भने, ‘उखान टुक्का, राम्रा राम्रा हास्यव्यंग्य सुनेर केपी ओलीको पार्टीलाई बहुमत दिलायौं। तर, परिस्थिति फरक रह्यो। केपी ओलीबाट लोकतन्त्र र संविधानमाथि प्रहार भयो। उहाँहरूको हातमा सत्ता गए पनि देशलाई प्रतिगमनतर्फ धकेल्ने काम भयो।’ जसपा नेता श्रेष्ठले भ्रष्टाचार मुक्त र सुशासन युक्त स्थानीय तह बनाउन गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरे।
‘लोकतन्त्र आज पनि बलियो भइसकेको छैन। संघीयताको कार्यान्वयन भइसकेको छैन,’ उनले भने, ‘चाहेको जस्तो समृद्धि, सुशासन आइसकेको छैन।’ उनले आगामी दिनमा राम्रो काम गर्न, संघीयतालाई ठीक ढंगले काम गर्न, संघीयताको माध्यमबाट सुशासन ल्याउन गठबन्धनका साझा उम्मेदवारलाई मत दिएर जिताउन मतदातालाई आग्रह गरे।