छोरीलाई भोट नदिए दुर्घटना हुन्छ भनेर थर्काउने – अध्यक्ष ओली
१२ जेठ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एउटा अभिव्यक्तिप्रति व्यंग्य गरेका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले प्रचण्डले चितवनमा सत्ता गठबन्धन विजयी नभए देश दुर्घटनामा जाने भन्दै दिएको अभिव्यक्ति मतदातालाई धम्याउने कार्य भएको बताए ।
भरतपुरमा आयोजित चुनावी सभामा प्रचण्डले भरतपुरमा मेयर पदमा माओवादी विजयी नभए देश दुर्घटनामा पर्ने बताएका थिए । सोही भनाइप्रति ओलीले संसद्मा व्यंग्य गरेका हुन । भरतपुरमा प्रचण्डकी छोरी रेनु दाहाल मेयरमा निर्वाचित भएकी छन् ।