वाइडबडी र सुनकाण्डमा छानबिन गर्न ओलीको चुनौती
१२ जेठ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्। प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै अध्यक्ष ओलीले सरकारलाई वाइडबडी, ३३ किलो सुनकाण्ड छानबिन गर्न चुनौती दिएका हुन् ।
‘वाइडबडीदेखि अन्यमा मलाई जोडियो। यसमा कसले सम्झौता गर्यो, कसले भुक्तानी दियो ?’ उनले भने, ‘मैले त सम्झौता भएपछि अन्तिम किस्ता मात्र दिएको हुँ। यसमा पनि भ्रष्टाचार भएको लाग्छ भने छानबिन गर्नुस्, को-को कसरी संलग्न छन्।’
उनले ३३ किलो सुनकाण्ड पनि अरूले गरेको र आफूले छानबिन गरेको दाबी गरे। ‘३३ किलो सुनकाण्ड मैले छानबिन गराएको हुँ। सुनको कारोबारी गिरफ्तार हुन थालेपछि विरोध भएको हो,’ उनले भने, ‘सुन तस्करीका सबै बाटो बन्द भयो अनि आलोचना सुरु भयो। त्यस्तै बालुवाटार काण्ड भएकै थिए मेरो सरकारले छानबिन गरेर मुद्दा दायर गरेको हो।’
कसको निर्णयबाट बालुवाटारको सरकारी जग्गा व्यक्तिको भयो भन्ने विषयमा छानबिन गर्न पनि उनले आग्रह गरे। उनले २० देखि ४० अर्ब केपी ओलीसँग पैसा छ भनेर आरोप लागेको तर आफूले सबै सम्पत्ति राज्यलाई दिएकाले यस्ता निराधार कुरा गर्न आवश्यक नहुने दाबी गरे।