धेरै बालेनहरू जन्मिनेछन् – सम्मानित नेता खनाल
१२ जेठ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा सांसद् झलनाथ खनालले नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरू भएपनि कतिपय अधुरा र अपूरा रहेको बताएका छन् । बिहीबार नीति तथा कार्यक्रमको छलफलका क्रममा उनले भने, “नीति कार्यक्रममा धेरै राम्रा छन् । कतिपय अधुरा, अपूरा कुराहरू छन् ।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले खाद्यान्न संकट आउनसक्ने सम्भावना भएकाले त्यसमा सरकार गम्भीर बन्नुपर्ने बताए । कृषकले उत्पादन गरेको उपजलाई बजारमा पुर्याउने र मूल्य दिने नीति हालसम्म बन्न नसकेको उनले बताए । राज्यले समर्थन मूल्य नदिएसम्म उत्पादन नबढ्ने उनको भनाइ छ । त्यसमा नीति कार्यक्रमले ध्यान दिन नसकेको उनको टिप्पणी छ ।
त्यसैगरी खनालले संविधानको मर्म र भावनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । संसद्को पाँच वर्षको आयु टुंगिन लागेको बताउँदै उनले अन्तिम कार्यक्रममा पनि संविधानबमोजिम राष्ट्र अघि बढ्ने भन्ने कुरा समेटिन नसकेको बताए ।खनालले सिंगो भूमिको टुक्रा क्लिक गरेर हेर्न सक्ने तथ्यांक अद्यावधिक गर्न आवश्यक रहेको उनले बताए ।
त्यस्तै भूसम्पत्तिको वितरण अन्यायपूर्ण रहेको भन्दै उनले त्यसलाई न्यायोचित बनाउनुपर्नेमा जोड दिए । यी कुराहरू गर्न नसके राजनीतिक दलहरूको अस्थित्व समाप्त हुँदै जाने र काठमाडौं महानगरपालिकाको मेयर पदको नजिक पुगेका बालेन साहजस्ता व्यक्तिहरू जन्मने उनले बताए ।
“…त्यसो गर्न सकेनौँ भने हामी इतिहासमा पछाडि छोडिँदै जानेछौँ । धेरै बालेनहरू जन्मिनेछन् । बालेनहरूले राज्य गर्नेछन् । पोलिकल पार्टीहरूको अस्थित्व र उपादेयता समाप्त हुँदै जाने छ । यदि ठिक ढंगले चल्न जानेनौँ र सकेनौं भने,” उनले भने ।