एमाले सांसदहरूले गरे प्रतिनिधिसभा अवरुद्ध


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १३ २०७९
2.4K
SHARES

१३ जेठ काठमाडौं । नेकपा (एमाले)का सांसदहरूले प्रतिनिधिसभा अवरुद्ध गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि गरेका टिप्पणीप्रति आपत्ति जनाउँदै प्रतिनिधिसभा अवरुद्ध पारेका हुन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा जानकारी गराउने क्रममा मन्त्री बडूले बिहीबार ओलीले सदनमा स्तरहीन अभिव्यक्ति दिएको बताएका थिए । ओलीले सदनमा बोल्दा आधारहीन, भ्रामक र राजनीतिक पूर्वाग्रहपूर्ण अभिव्यक्ति दिएको पनि बताएपछि एमालेका सांसदहरूले मन्त्रीले गैरजिम्मेवारीपूर्वक बोलेको भन्दै विरोध जनाएका थिए । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेतामाथि अप्रमाणित कुरा गरेर संसदको गरिमा घटाउने काम गरेको आरोप लगाए ।

एमाले सांसदहरूले मन्त्री बडूले आफ्ना शब्द फिर्ता लिनुपर्ने माग गर्दै उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले केही बेरका लागि बैठक स्थगित गरे ।