स्थापितले भने : सकारात्मक काममा सहयोग र कमजोरीमा निरन्तर खबरदारी
१३ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकाकका मेयरमा पराजित भएका एमाले उम्मेदवार केशव स्थापितले मेयरमा विजयी बालेन साहलाई शुभकामना दिएका छन् । उनले काठमाडौँको विकास र समृद्धिसँगै मेयर बालेनले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने बताएका छन् । यद्यपि, हरेक कमजोरीमा भने निरन्तर खवरदारी गरिरहने उनले बताएका छन् ।
जनताको सेवक भएर काम गर्ने आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न नसकेको भन्दै स्थापितले आफू पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति भएकोले हार-जितलाई सामान्यरुपमा लिएको बताएका छन् ।
उनले भनेका छन्, ‘काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो । त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको संस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ ।’ काठमाडौंको विकास र समृद्धिप्रतिको आकाङ्क्षा अलिकति पनि नधरमराएको उनले बताएका छन् । स्थापितले उपमेयरमा विजयी सुनिता डंगोलसहित अन्य जनप्रतिनिधिलाई पनि शुभाकामना दिँदै सबैको साझा जनप्रतिनिधि भएर सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।